-प्रतीक पौडेल
रुपन्देही । ओमसतिया गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न बोलाइएको गाउसभा बैठक बहुमत सदस्यले बहिस्कार गरेका छन् ।
बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको गाउँसभा बैठक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका दलका जनप्रतिनिधिले बहिस्कार गरेका हुन् ।
ओमसतिया गाउँपालिका वडा नं ६ का वडाध्यक्ष शिवकुमार धवलले कार्यपालिका बैठकमा छलफल गर्न नदिएकाले आफूहरुले गाउँसभा बहिस्कार गरेको बताउनुभयो । ओमसतियाको नीति तथा कार्यक्रम तथा बजेट बिहीवार गाउँसभामा पेश हुँदै थियो । प्रमुख हिरा केवटले बहिष्कारका वावजुद गाउँसभा बैठक संचालन गरेपनि सभामा गणपुरक संख्या नपुगेपछि नीति तथा कार्यक्रम प्रस्तुत हुन नसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले जानकारी दिनुभयो ।
प्रमुख केवटले एकलौटी ढङ्गबाट गाउपालिका चलाउन खोजेको वडाध्यक्ष धवलको गुनासो छ ‘प्रमुखले शुरुवात देखिनै बलमिच्याईं गर्न खोज्नुभयो । अझ दुःखको कुरा त उहाँले केही वडाको विषयमा वडा अध्यक्षसँग छलफलनै नगरि एकलौटी ढङ्गबाट चल्न खोज्दै आउनुभयो ।’
वडा अध्यक्ष धवलका अनुसार आफूहरुले २ बर्ष अघिदेखि गाउँपालिका प्रमुखको एकलौटी ढङ्गको क्रियाकलापको बिरोध जनाउदै आएको बताउनुभयो । एउटै पार्टीबाट निर्वाचित भएका कारण आफूहरुको पक्षमा पार्टीको ह्विपको कारण बहुमत नपुग्ने देखिएकाले चुप बस्न बाध्य रहेको दाबी गर्नुभयो ।
गाउँपालिकामा बहुमत तत्कालिन नेकपा माओवादी केन्द्रको रहेको थियो । गाउँपालिका प्रमुख र बहुमत वडा अध्यक्ष र सदस्यहरु माओवादीबाट नै निर्वाचित रहेका थिए । पछिल्लो समय नेकपामा देखिएको बिवादको क्रममा सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच भएको एकता भङ्ग गरेपछि गाउँपालिका प्रमुख एमालेको पक्षमा देखिएको हो । त्यसपछि माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष र सदस्यहरु खुलेर प्रमुखको बिरोधमा उत्रिएका छन् ।
ओमसतिया गाउपालिका वडा नं २ अध्यक्ष ज्ञानेस श्रेष्ठका अनुसार गाउँपालिका प्रमुखको व्यवहारका कारणनै गाउँसभा बहिष्कार गर्नुपरेको बताउनुभयो । श्रेष्ठका अनुसार प्रमुखले पहिलो वर्षदेखि नै एकलौटी रुपमा काम गर्दै आएपनि आफूहरुसँग बहुमत नभएका कारण केही गर्न सकिरहेको थिएन । तर यसवर्ष बहुमत पुगेकोले बैठक बहिष्कार गरेर प्रमुखको एकलौटी व्यवहारको बिरोध गरिएको श्रेष्ठले बताउनुभयो ।
गाउँपालिका प्रमुख हिरा केवट (राहुल) ले भने गाउँपालिकामा देखिएको विवाद राजनीतिक नभई वडा अध्यक्षहरुले बजेट सिलिङ २ करोड मागेका कारण उत्पन्न भएको बताउनुभयो । केवटले भन्नुभयो,’वडा अध्यक्षहरु कार्यपालिका बैठकमा आउनुहुन्छ र २ करोड माग्नुहुन्छ । गाउँपालिकामा बजेट कम छ पुग्दैन भन्छौं । अनि बैठकको माइनुटमा हस्ताक्षर नगरी बैठक छोडेर हिड्नुहुन्छ ।’
गाउँसभा बैठकमा गणपुरक संख्या पुगेन
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानिय तहले असार १० गते सम्म नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत गरिसक्नुपर्ने नियम रहेको छ ।
ओमसतिया गाउपालिकाको गाउँसभामा ३४ सदस्य रहेका छन् । गाउँसभाबाट नीति तथा कार्यक्रम प्रस्तुत हुन कुल सदस्यको २५ प्रतिशत गणपुरक संख्या पुर्याउने प्रावधान रहेको छ । २५ प्रतिशत भनेको ८ जना हो । गाउँसभा बैठक ओमसतिया गाउपालिकाको ६ वटै अध्यक्षसँगै २५ जना सदस्यले बहिष्कार गरेका थिए भने ५ जना तथस्ट रहेका थिए । गाउपालिका प्रमुख केवटको पक्षमा ४ जना मात्र सदस्य रहेका थिए । जसका कारण गणपुरक संख्या पुगेन र नीति तथा कार्यक्रम प्रस्तुत हुन सकेन ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलका अनुसार गणपुरक संख्या नपुग्दा १० गते बोलाइएको गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत हुन नसकेकोले पुनः असार १३ गते गाउँसभा बैठक बोलाइएको जानकारी दिनुभयो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ३ दिन भित्र गाउँसभा पुनः बोलाएर प्रस्तुत गर्न सकिने प्रावधान छ ।
गाउँसभा बैठक बोलाएपनि नीति तथा कार्यक्रम प्रस्तुत गर्नको लागि प्रमुखले गणपुरक संख्या पुर्याउनुपर्ने हुन्छ । ओमसतिया गाउँपालिका वडा नं ६ अध्यक्ष शिवकुमार धवलले गाउँसभामा पेश हुने नीति तथा कार्यक्रम एवं बजेटमा सबै कार्यपालिका सदस्यको सहमतीमा योजना ल्याउनुपर्ने स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा व्यवस्था विपरित प्रमुखले एकलौटी ढङ्गबाट योजना प्रस्तुत गर्न खोजेको आरोप लगाउनुभयो । धवलले गाउँपालिका प्रमुखले प्रत्येक योजना कार्यपालिकाबाट पास नगरिकन गाउँसभामा प्रस्तुत गर्ने प्रयास भैरहेसम्म गाउँसभा बहिष्कार गरिने चेतावनी दिनुभयो ।
बजेट प्रस्तुत नहुदा पुर्वाधारको काम ठप्प हुने खतरा
असार १० गतेसम्म बजेट प्रस्तुत गर्नुपर्ने नियम स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ब्यवस्था भए पनि ओमसतिया गाउँपालिकामा बिहीवार नीति तथा कार्यक्रमनै प्रस्तुत हुन सकेन । नीति तथा कार्यक्रम प्रस्तुत नहुदा बजेट अन्योलमा परेको छ ।
बजेट प्रस्तुत नहुदा ओमसतिया गाउपालिकामा पुर्वाधार विकासको काम आगामी आर्थिक बर्षमा ठप्प हुने खतरा बढेको छ ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पौडेलका अनुसार गाउँसभाले नीति तथा कार्यक्रम प्रस्तुत गरेर बजेट ल्याउन सकेन भने आव २०७८–७९ मा पूँजिगत तर्फको बजेटनै नहुने हुनाले गाउँपालिकामा पूर्वाधार विकासको काम ठप्प हुन सक्ने बताउनुभयो ।
Like this:
Like Loading...