भैरहवा । सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्लेले अक्षयकोष स्थापना गर्नुभएको छ । काफ्लेले आफ्नो कार्यकाल अवधिभरको पारिश्रमिकको २५ प्रतिशत रकम बराबर अक्षयकोष स्थापना गर्नुभएको हो । उपप्रमुख काफ्लले नगरपालिकाको जारी ९ औ नगरसभा बैठकमा बोल्दै स्व माता मायादेवी खनाल र पिता पुनाराम खनालको स्मृतीमा अक्षयकोषको स्थापना गरेको जानकारी दिनुभएको हो ।
काफ्लेका अनुसार अक्षयकोषमा ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ हुनेछ । नगरस्तरीय अक्षयकोषबाट सुरक्षित मातृत्व प्रवर्द्धन कार्यक्रम अन्तर्गत अति बिपन्न गर्भवती तथा सुत्केरी आमाहरुको स्वास्थोपचार तथा पोषण कार्यक्रम र अतिबिपन्न गरिब तथा जेहेन्दार छात्रामैत्री प्राविधिक शिक्षा (११, १२ र स्नातक तह सम्म) सँग जोडिने छ । उपप्रमुख काफ्लेका अनुसार निकट भविष्यमानै कम्तीमा पनि अक्षयकोष ११ लाखसम्म पुर्याइने छ ।
अक्षयकोष नगर भित्र स्थायी बसोबास गर्नेको लागि मात्र हुने उपप्रमुख काफ्लेले जानकारी दिनुभएको छ । जनताको कर जनतामै लगानी भन्न मूल नाराका साथ काफ्लेले अक्षयकोषको स्थापनमा गरेको बताउनुभयो ।
अक्षयकोषका लागि कार्यविधि निर्माण गरिने जानकारी उपप्रमुख काफ्लेले दिनुभयो । कार्यविधि निर्माणको जिम्मासहित अक्षयकोषमा ५ देखि ७ सदस्यीय समित गठन गरिएको छ जसमा संविधानसभा सदस्य आदित्यनारायण कसौधन, प्राज्ञ बुंद राना, बालकृष्ण भट्टराई, विजय गोबिन्द सागर र संमन्वय तथा सहयोगको लागि नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत सदस्य रहेका छन् ।
अक्षयकोषको संरक्षकको रुपमा उपप्रमुख काफ्लेसहित परिवारका सदस्य दिदी राधा खरेल, श्रीमान टंकनाथ काफ्ले, भाइ हरिशचन्द्र खनाल, छोरीहरु बन्दिता काफ्ले, पुजा काफ्ले, कविता काफ्ले र छोरा सिए चन्द्रप्रकाश काफ्ले रहेका छन् ।
उपप्रमुख काफ्लले यसभन्दा अघि आफ्नो पारिश्रमिकको करिब १५ प्रतिशतले नगरक्षेत्रका विभिन्न सामुदायिक विध्यालयमा अक्षयकोष स्थापना गरिसक्नुभएको छ । काफ्लेले नगरपालिकामा रहेको रुपन्देही क्याम्पसमा ५१ हजार, भानु माविमा ५१ हजार र नव दुर्गा माविमा २५ हजार (५१ हजार पुर्याउने लक्ष्य) को अक्षयकोष स्थापना गरिसक्नु भएको छ । उपप्रमुख काफ्लेका अनुसार चाडैनै रुपन्देही लिलाराम माविमा पनि अक्षयकोष स्थापना गरिनेछ ।
Like this:
Like Loading...