भैरहवा । सुत्केरी आमा तथा शिशुलाई पोषणसम्बन्धी सचेतना अभिवृद्धि गर्ने र आमा तथा बच्चाको पोषण स्थिति तथा स्वास्थ्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सुत्केरी आमाहरुसँग शुभकामना सन्देशसहित नगर उप–प्रमुखको कोशेली भेट कार्यक्रम शुरु भएको छ ।
उपप्रमुख उमा काफ्लेले शनिवार पहिलो चरणमा सिद्धार्थनगर नगरपालिका वडा नं २ का २५ जना सुत्केरी आमाहरुलाई भेट्न गएर सुत्केरी अवस्थामा अपनाउनु पर्ने सन्देशमूलक शुभकामना कार्ड, घ्यु, च्वनप्रास, खजुर र मह वितरण गर्नुभएको छ ।
सुत्केरी आमा र नवजात शिशुलाई तन्दुरुस्त राख्ने उपायबारे जानकारी गराउन यो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त नगरपालिकाले गरेको छ।
उपप्रमुख काफ्लेका अनुसार ‘अझै पनि धेरै महिलाहरु र घरपरिवारलाई सुत्केरी अवस्थामा कस्तो खाना खाने? बच्चाको स्याहारसुसार कसरी गर्ने बारे जानकारी नभएकोले नगरपालिकाले जानकारी गराउने उद्देश्यका साथ कार्यक्रम शुरु गरेको हो ।
काफ्लेले भन्नुभयो सुत्केरी आमाहरुमा सचेतना कम हुदा बच्चा र आमाको स्वास्थ्यमा समस्या आउने गरेको छ त्यसैले हामीले यो कार्यक्रम अघि सारेका हौं।
नगरपालिकाले यस कार्यक्रमको लागी चालु आर्थिक वर्षमा १६ लाख बजेट छुट्याएको छ। उपप्रमुखको कोशेली भेट कार्यक्रमबाट १ हजार ६ सय ९१ जना सुत्केरी आमाहरु लाभान्वित हुने नगरपालिकाले जनाएको छ।
कार्यक्रम अगाडी हुनुपर्ने भएपनि कोरोना संक्रमणको महामारीका कारण कार्यक्रम हुन सकेको थिएन । कार्यक्रममा सहभागी हुन नेपाली नागरिक हुनुपर्ने, शिशुको जन्म दर्ता गरेको हुनुपर्ने, ४५ दिनभित्रका सुत्केरी हुनुपर्ने, अस्पताल वा प्रसुति केन्द्रमा सुत्केरी भएको प्रमाण हुनुपर्ने, नेपाल सरकारबाट सुत्केरी सुविधा प्राप्त नगरेका सुत्केरी आमाहरु हुनुपर्ने र नगरपालिकाको स्थायी बासिन्दा हुनुपर्ने मापदण्ड बनाइएको छ।
कोशेली भेटमा दिइने पोसिलो खानेकुराले र प्लेकार्डले सुत्केरी अवस्थामा खानुपर्ने बस्तु, अपनाउनु पर्ने सावधानीबारे सुत्केरीलाई थाहा हुनेछ।

Like this:
Like Loading...