एजेन्सी ।
जारी टोक्यो ओलम्पिकमा महिलाको ४ गुणा १ सय मिटर फ्रिस्टाइल रिलेमा अष्ट्रेलिया टिमले विश्व कीर्तिमानसहित स्वर्णपदक जित्न सफल भएको छ ।
अष्ट्रेलिया स्विमिङ टिमले ३ मिनेट २९.६९ सेकेन्डसहित स्वर्ण जित्दा उक्त इभेन्टमा विश्व कीर्तिमान तय गरेको हो । दोस्रो स्थानको क्यानाडा टिमले ३ मिनेट ३२.७८ सेकेन्ड र तेस्रो स्थानको अमेरिकी टिमले ३ मिनेट ३२.८१ सेकेन्डको समय निर्धारण गरेका हुन् । तीन वर्षअघि यही अस्टे«लियन टिमले कमनवेल्थ गेम्समा ३ मिनेट ३०.०५ सेकेन्डको विश्व कीर्तिमानी समय निकालेको थियो । स्वर्ण दिलाएको टिममा केट क्याम्पबेल, एमा मेककिओन, मेग हेरिस र ब्रोन्टे क्याम्बेल रहेका छन् ।
यसै गरी ट्युनिसियन स्विमर अहमद हाफ्नाओइले पुरुष स्विमिङतर्फ स्वर्ण जित्दा सबै आश्चर्यमा परे । यसलाई ओलम्पिक इतिहासमा स्तब्ध नतिजाको रूपमा लिइएको छ । १८ वर्षीय हाफ्नाओइले ४ सय मिटर फ्रिस्टाइल इभेन्टमा अष्ट्रेलिया का ज्याक मेकलगलीनलाई पछि पार्दै स्वर्ण जितेका हुन् । उनले सो दूरी ३ मिनेट ४३.३६ सेकेन्डमा पूरा गर्दा ज्याक ०.१६ सेकेन्डले रजतमै सीमित भए ।अमेरिकाका स्विमर कीरान स्मिथले कांस्य पदकमै चित्त बुझाए । स्मिथले सो दूरी ३ मिनेट ४३.९४ सेकेन्डमा पूरा गरेका थिए । हाफ्नाओइले २०२४ को ओलम्पिकमा स्वर्ण जित्ने लक्ष्य राखेकोमा त्यसभन्दा अघि नै उनी ओलम्पिक स्वर्ण सफल भएपछि आपूm निकै आश्चर्यमा परेको बताए ।
यसै गरी महिलाको ४ सय मिटर व्यक्तिग मेड्ली इभेन्टमा जापानले स्वर्ण जितेको छ । २५ वर्षीया युइ ओहासीले आफ्नै पोडियममा दुई जना अमेरिकी स्विमरलाई पछार्दै स्वर्ण जित्न सफल भएकी हुन् । जितपछि उनले भनिन्– ‘साँच्चिकै महसुस भएन, यो मेरो लागि सपनाजस्तै भयो ।’
ओहासीले सो दूरी पार गर्न ४ मिनेट ३२.०८ सेकेन्ड समय लगाइन् । दोस्रो स्थानमा रहेकी एम्मा वियान्टले ४ मिनेट ३२.७६ सेकेन्ड समयमा सो दूरी पार गरेकी थिइन् । त्यस्तै हाली फ्लिकिन्गरले ४ मिनेट ३४.९० सेकेन्ड समय निर्धारित गर्दै कांस्य पदक हात पारेकी थिइन् । तर, यही इभेन्टमा पछिल्ला ओलम्पिकमा धाक जमाएकी हंगेरीकी काटिन्का होस्जु पाँचौं स्थानमा रहिन् । संजोगवश यो ओलम्पिक ४ सय मिटर मेड्ली क्वीन उपनाम पाएकी होस्जुको पाँचौं ओलम्पिकसमेत हो ।
सिमोन बाइल्सको अमेरिकी टिम दोस्रो
सिमोन बाइल्सको अमेरिकी टिम जारी टोक्यो ओलम्पिकअन्तर्गत महिला जिम्नास्टिक टिम क्वालिफाइङमा दोस्रो स्थानमा रहेको छ । बाइल्सले फ्लोर र भल्ट दुवैमा कमजोर प्रदर्शन गरेपछि उनको टिम रसियन ओलम्पिक कमिटी टिमसँग पछि परेको हो । अमेरिकी टिमले १ सय ७०.५२६ अंक जोड्दा रसियन टिमले १ सय ७१.६२९ अंक बटुलेको हो ।पाँच वर्षअघि रियो ओलम्पिकमा चार स्वर्ण र एक कांस्य पदक जितेकी बाइल्समाथि सबैको नजर थियो । २४ वर्षीया बाइल्स अमेरिकाकी सबैभन्दा सफल जिम्नास्टिक हुन् । तर, क्वालिफाइङ चरणमा उनले फ्लोरमा गल्ती गर्न पुगिन् र उनको ०.३ अंक काटियो । उनको सबैभन्दा कमजोर प्रदर्शन बीममा समेत भएको थियो । उनले त्यहाँ पनि कम अंक जोडेकी थिइन् ।
पीएचडी गरेकी किसेन्होफरलाई स्वर्ण
अस्ट्रियाकी एना किसेन्होफरले ओलम्पिक डेब्युमै स्वर्णपदक जितेकी छन् । ३० वर्षीया किसेन्होफरले जारी टोक्यो ओलम्पिकअन्तर्गत रोड रेसमा स्वर्ण हासिल गरेकी हुन् । योसँगै एक सय २५ वर्षको अवधिमा अस्ट्रियाबाट कुनै पनि साइक्लिङ प्रतिस्पर्धामा ओलम्पिक पदक जित्ने उनी पहिलो खेलाडी बनिन् ।किसेन्होफरले दोस्रो स्थानमा रहेकी नेदरल्यान्डस्की एनेमिएक भान भिउटेनलाई ७५ सेकेन्डले पछि पारेकी हुन् । किसेन्होफर व्यावसायिक साइक्लिस्ट होइनन् । उनले भिएना र क्याम्ब्रिज विश्वविद्यालयबाट गणित विषयमा ग्राजुएट गरेकी छन् । साथै उनले पीएचडीसमेत गरेकी छन् ।
बार्टी पराजित
महिला टेनिसकी विश्व नम्बर एक खेलाडी एस्लीग बार्टी पहिलो चरणमै स्तब्ध भइन् । हालै विम्बल्डन उपाधि जितेकी अस्टे«लियन बार्टीलाई ४८ औं वरीयताकी सारा सोबिबेस टोर्मोले सहजै पराजित गरिन् । स्पेनकी साराले सो खेल ६–३, ६–३ ले जितेकी हुन् ।अर्को खेलमा जापानी खेलाडी नाओमी ओसाकाले भने जित हासिल गरिन् । ओसाकाले चीनकी साइसाई झेंगलाई ६–१, ६–४ ले हराइन् । यस्तै विम्बल्डन फाइनलमा पराजित केरोलिना पिलीस्कोभा दोस्रो चरणमा पुगेकी छन् । चेक रिपब्लिककी पीलीस्कोभाले फ्रान्सकी एलिज कोर्नेटलाई ६–१, ६–३ ले पन्छाइन् ।
आइतबार जापानमा तापक्रम ३२ डिग्री सेल्सियसमा पुगेको थियो । तापक्रम बढेको अवस्थामा खेलाडीलाई दोस्रो र तेस्रो सेटको बीचमा १० मिनेट विश्राम दिइएको थियो । पुरुष टेनिसका विश्व नम्बर एक खेलाडी नोभाक जोकाभिचले पहिलो चरणको खेल दौडानमा गर्मीलाई लिएर गुनासो गरेका थिए । अर्कोतिर ब्रिटिस खेलाडी एन्डी मुरेले प्रतियोगिताबाट नाम फिर्ता लिए । उनी रियो ओलम्पिकको मेन्स सिंगल्स विजेता थिए ।
Like this:
Like Loading...