काठमाडौं। निर्माणको अन्तिम चरणमा पुगेको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्यालिब्रेसन फ्लाइट’ गर्नबाट थाइ कम्पनी पछि हटेको छ।
कोभिड-१९ का कारण कम्पनीले तत्काल क्यालिब्रेसन फलाइट गर्न नसक्ने भन्दै पत्राचार गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। यससँगै देशकै दोस्रो अन्तरराष्ट्रिय विमानस्थलका रूपमा विकास गरिएको यो विमानस्थल संचालनमा आउन ढिला हुनसक्ने देखिएको छ।
क्यालिब्रेसन फ्लाइट भनेको उडान संचालन तथा व्यवस्थापनका लागि विमानस्थलमा जडान भएका आईएलएस (इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम), भीओआर (भीएचएफ ओम्निडिरेक्सनल रेडियो रेन्ज) तथा अन्य संचार वा नेभिगेसन उपकरण तथा प्रविधिले ठिक ढंगले काम गरिरहेको छ/छैन भन्ने जाँच्न गरिने परीक्षण उडान हो।
थाइ कम्पनीले विमानस्थलको तत्काल क्यालिब्रेसन फलाइट गर्न नसक्ने भनेसँगै प्राधिकरणले अमेरिकी र भारतीय कम्पनीमध्ये एउटालाई जिम्मा दिनका लागि छलफल समेत सुरु गरिसकेको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए।
‘थाइ कम्पनीले तत्काल क्यालिब्रेसन फ्लाइट गर्न सक्दैनौं भनेपछि हामीले उहाँहरुको यो भागलाई हटाएर भैरहवासँगै काठमाडौं र तराईका नेभिगेसन, कम्युनिकेसन सिस्टम भएको विमानस्थलको क्यालिब्रेसन फ्लाइट गर्नेछौं,’ पोखरेलले भने, ‘यी विमानस्थलमा हुँदै आएको नियमित क्यालिब्रेसन फ्लाइट नभएको एक वर्ष भइसकेको छ। अब भैरहवासँगै सबै विमानस्थलको क्यालिब्रेसन फ्लाइट गर्ने तयारी गरेका छौं।’
क्यालिब्रेसन फ्लाइट गरेको तीनदेखि चार महिनामा भैरहवा विमानस्थलमा उडान संचालन गर्न सकिने उनको भनाइ छ। भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउँदा भैरहवाबाट आउने आगमन रुटमा कुनै असर नपर्ने उनले बताए। ‘भारतीय सेनाको एयरस्पेसमा नजाने किसिमले रुटको तयारी गरेका छौं। अहिले प्राविधिक तहबाट आफ्नो काम अगाडि बढाउँछौं। यदि यसमा केही बाधा व्यवधान आयो भने राज्यले पहल गर्नेछ,’ उनले भने।
यतिखेर निर्माणको ९८ प्रतिशत काम सकिसकेको यो विमानस्थल मुलुकको एक मात्र इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम (आईएलएस) भएको विमानस्थल हो। पोखरेलका अनुसार, यो विमानस्थलमा हरेक ६ महिनाको अन्तरालमा क्यालिब्रेसन फ्लाइट गरिनेछ।
Like this:
Like Loading...