रुपन्देही । समाजमा ठूलो सामाजिक संस्था भनेर परिचय दिने लायन्स क्लबबाट एक जना पत्रकारकै पैसा गायब भएको पाइएको छ । भैरहवामा रहेको लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलले एक जना पत्रकारको सदस्यता बापतको शुल्क संस्थागत रुपमा प्रयोग नगरिएको भेटिएको हो ।
करिब अढाई वर्ष अगाडि सेन्टिनियलका संस्थापक अध्यक्ष ओम जैसी एवं भैरहवालाई कार्यक्षेत्र बनाउँदै आएका पत्रकार शशि पन्थी समेत तत्कालिन सहसचिव पदमा रहँदा निज शशि पन्थीले क्लबका कोषाध्यक्ष मोहन थापालाई सदस्यता शुल्क बापत दिएको पैसा जम्मा रु २० हजार ५ सय रुपैयाँ क्लबले आफ्नो हिसाबमा नै नदेखाएको क्लवका एक सदस्यले सेतोघर डट कमलाई जानकारी दिए ।
पत्रकार शशि पन्थीले भने, ‘ओम जैसी अध्यक्ष हुँदा म सह–सचिव पदमा थिएँ, कार्यव्यस्तताका कारण क्लवमा बस्न नसक्ने भएपछि १ वर्ष पछि म निस्कृय भएँ । कोषाध्यक्ष मोहन थापाले सदस्यता शुल्क मागेपछि तिनाउ विकास बैँकबाट मोहन थापाको नाममा चेक दिएँ । उहाँले पैसा बैँकबाट तुरुन्त निकाल्नु भयो तर क्लवमा मैले पैसा दिएको कुरा उल्लेख नै गर्नुभएनछ । म सक्रिय पत्रकार भएर पनि विश्वासिलो संस्थाका जिम्मेवार व्यक्तिहरुबाट नै यसरी पीडित हुन पुगेँ । यस घटनाले मलाई संस्थाको जवाफदेहिता र पारदर्शिता प्रति पनि प्रश्न खडा गर्ने मैले महसुस गरेको छु ।’
पत्रकार पन्थीले आफू सम्पादक भएको शालीन साप्ताहिक पत्रिकाको नामबाट १९ जुलाई २०१९ मा मोहन थापाको नाममा जे ०००११०४१८४ चेकबाट रु २० हजार ५ सय दिएको र तत्कालनि कोषाध्यक्ष मोहन थापाले रकम निकालेको समेत भेटिएको छ ।
पन्थीले अझ प्रष्ट्याउँदै थपे, ‘ओम सर सहित ३ जना त पूर्व अध्यक्ष हुनुभयो अहिले नयाँ अध्यक्ष महेश नेपाल हुनुहुन्छ । अहिले सम्म मैले दिएको हिसाब भेटिँदैन भने कहिले भेटिन्छ ? मैले यस्तो होला भन्ने सोँचेकै थिइन । अंस्ती क्लवको कार्यक्रम रहेछ । पूर्व अध्यक्ष र अहिलेका अध्यक्ष महेश नेपालले शशिजी तपाईँले पैसा दिनुभएको हो कि नाई ? भनेर फोन गर्नुभयो । मैले कोषाध्यक्ष मोहन थापालाई दिएको हुँ भनेँ । फेरी साँझ पूर्व अध्यक्षले फोन गर्नुभयो र तपाईँको हिसाब मिलाउँछौँ टेन्सन नलिनु हजुरले पैसा दिनु पर्दैन भन्नुभयो । मैले पैसा दिएको छु उल्टै तपाईँले पैसा नदिए पनि हामी हिसाब मिलाउँछौँ भन्दा साह्रै मन दुखेको पत्रकार पन्थीले बताए ।
पीडित शशि पन्थीले साउन १७ गते आइतबार साँझ फेसबुकमा समाजमा सामाजिक सेवा गर्छु भन्ने क्लबहरुले नै आर्थिक हिसाब पारदर्शी नगरी अनियमितता गर्छन् भने त्यस्ता क्लबको के अर्थ ? डलर कमाउने उपाय मात्रै होला कि ! भन्ने पोष्ट गरेपछि क्लबका पूर्व अध्यक्षहरुले पोष्ट डिलिट गर्न अनुरोध गरेको बताए ।
क्लवका कोषाध्यक्षले मैले दिएको पैसाको हिसाब नै नदेखाउने उल्टै क्लबका पूर्व अध्यक्षले पोष्ट डिलिट गर्न भन्नु गल्ती ढाकछोप गर्ने उपाय मात्र भएको पन्थी बताउँछन् । मैले त कुनै गल्ती गरँे जस्तो लाग्दैन । त्यो क्लबमा म एक वर्ष बसेँ, मेरो शुल्क बुझाएँ समय अभावका कारण क्लबमा निस्क्रिय भएँ । यतिका वर्ष पछि पनि हिसाब नै नदेखिनु र मसँग त्यस सम्बन्धी
सोधपुछ गरिनुले क्लबको हिसाब पारदर्शी छैन भन्ने बुझ्न कठिन नहुने पन्थीको धारणा छ । क्लवमा मैले बैँकबाट दिएको हिसाब नै भेटिँदैन भने हातमा नगद पैसा दिनेहरुको हिसाब कस्तो होला ? निष्कर्षको रुपमा पन्थी भन्छन्, आर्थिक अनियमितता भेटिएका कारण सम्बन्धित निकायबाट क्लबलाई छानबिनको दायरामा ल्याउनुपर्छ ।
Like this:
Like Loading...