काठमाडौं ।
प्रदेश निर्वाचन कार्यालय हेटौंडामा उपस्थित भएर सनाखत गर्नेमा प्रदेशसभा सांसद् राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आलेमगर, लक्ष्मण लम्साल हुनुहुन्छ । बसुन्धरा हुमागाईं, माधब पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठले पनि एकीकृत समाजवादीमा सनाखत गर्नुभएको छ ।
माधव नेपाल पक्षका सांसद्हरुका अनुसार अझै केही सांसद् थपिने छन् । उनीहरुका अनुसार समाजवादीमा २१ सांसद् छन् । अरुले पनि सनाखत गर्ने सांसद्हरुले बताएका छन् । प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू मुख्यमन्त्री नियुक्त भएकै दिन भदौ २ गते नियुक्त गर्नुभएका सामाजिक विकास मन्त्री कृष्ण खनाल भने मंगलबार उपस्थित हुनुभएन ।तर, सांसद् हुमागाईंका अनुसार खनाल सनाखतमा लागि आउने पक्का भइसकेको छ । मन्त्री खनालर पाण्डेले बुधबार माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी नामक नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा हस्ताक्षर गरेर नेकपा एमाले त्याग गरिसक्नु भएको छ ।यसअघि एमाले अध्यक्ष केपी शर्माओलीले माधव नेपालनिकट शाक्यलाई बागमतीको मुख्यमन्त्रीमा अघि सार्नुभएको थियो । शाक्य मुख्यमन्त्री बन्दा नेपालनिकट सांसद् एमालेमै बस्ने आँकलनविपरीत मंगलबार ११ सांसद् एकीकृत समाजवादीमा खुलेका हुन् ।
११ सांसद्ले नयाँ दल रोजेसँगै शाक्य नेतृत्वको प्रदेश सरकार गठन भएको करिब दुई हप्तामै स्पष्ट अल्पमतमा परेको छ । शाक्य नेतृत्वको सरकार अल्पमतमा परेसँगै उनले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको छ । १ सय ९ सदस्यीय प्रदेशसभामा एमालेका सभामुखसहित ५६ सांसद् छन् । सरकार गठनका लागि ५५ सांसद् चाहिन्छ । हालको अवस्थामा दुई जनाले मात्र अर्को दल रोजे मुख्यमन्त्रीको पद धरापमा पर्नेछ ।
तर, एमालेका दर्जन बढी सांसद् नवगठित समाजवादीमा खुलिसकेका छन् । केही खुल्ने क्रममा छन् ।प्रदेशसभामा माओवादी केन्द्रका २३, कांग्रेसका २२, नेपाल मजदुर किसान पार्टीका ३, विवेकशील साझा पार्टीका ३, राप्रपाका २ र स्वतन्त्र एक सांसद् छन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीको गठबन्धन मिलेर प्रदेशमा सरकार बनाउने रणनीतिमा विपक्षी छन् ।एकीकृत समाजवादीका नेता पाण्डेले शाक्यलाई मुख्यमन्त्रीबाट प्रक्रियागत्रुपमा हटाइने भन्दै प्रदेशको वर्तमान सरकार ढल्ने दाबी गर्नुभयो । ‘३ पार्टी मिलेर नयाँ सरकार बनाउँछौं ।,’ उहाँले भन्नुभयो ।प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले वर्तमान सरकार गणितीय हिसाबमा अल्पमतमा परिसकेको बताउँदा कांग्रेस सचेतक छिरिङ दोर्जेलामाले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने विषयमा विपक्षीहरुले आन्तरिक छलफल सुरु गरिसकेको दाबी गर्नुभयो ।
यदि शाक्य आफ्नो पक्षमा नआए शाक्यको स्थानमा राजेन्द्र पाण्डेलाई कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट मुख्यमन्त्री बनाउने योजना बनाइएको छ । एकीकृत समाजवादी पार्टीका नेताहरुका अनुसार बागमती प्रदेशका नयाँ मुख्यमन्त्रीमा पाण्डेलाई बनाउने तयारी छ । पाण्डेले माधव नेपालको साथ छाड्नुभएन । सोही कारण उहाँलाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने विषयमा पार्टीमा छलफल सुरु भएको बुझिएको छ ।
नेकपा एकीकृत समाजवादीमा मंगलबार सनाखत गर्नुभएकी सांसद् मुनु सिग्देलले मुख्यमन्त्री शाक्यविरुद्ध तत्काल अविश्वासको प्रस्ताव दर्ता नगर्ने बताउनुभएको छ । सांसद् सिग्देलले सरकार तत्काल नढल्ने बताउनुभएको हो । ‘मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार कति दिनमा ढल्छ’ भन्ने प्रश्नमा उहाँले मुख्यमन्त्री शाक्यको सरकार तत्काल नढल्ने दाबी गर्नुभयो ।‘अदालतले सनाखत गर्न २२ गतेसम्म समय दिएको छ । २२ गतेसम्म शाक्यजीले पनि सनाखत गर्न सक्नुहुन्छ ।,’ आशावादी रहँदै उहाँले भन्नुभयो–त्यसैले हामी अहिल्यै नै शाक्यको सरकार ढल्छ भन्न सक्दैनौं ।
Like this:
Like Loading...