काठमाडौं ।
कोरोना महामारीका कारण लगाइएकोे निषेधाज्ञाले गर्दा गत वर्ष रोकिएको इन्द्रजात्रा यसपटक भने कोरोना महामारीकै बीचमा शनिबार शुरू भएको छ । इन्द्रजात्रा व्यवस्थापन समितिले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर इन्द्रजात्रा गरिने जनाएको छ ।

हरेक वर्ष भाद्र शुल्क द्वादशीदेखि भाद्र कृष्ण तृतीयासम्म इन्द्रजात्रा मनाइने गरिन्छ । धार्मिक एवं परम्परागत महत्व बोकेको इन्द्रजात्राको शुरुआत इन्द्रको मूर्तिस्वरूप इन्द्रध्वजोत्थानसँगै येंयाः इन्द्रजात्रा शुरु भएको छ । संस्कृतिविद् अजयक्रान्ति शाक्यका अनुसार नेपाल भाषामा इन्द्रलाई यमाद्य भनिन्छ भने याः भनेको जात्रा हो, त्यसैलाई छोटकरीमा भन्दा ‘येंयाः’ भनिएको हो । शुक्रबारदेखि नै काठमाडौंको चोक–चोकमा इन्द्रलाई बन्धनमा राखेर प्रदर्शन गरिएको थियो ।

यही परम्पराअनुसार हिजो बिहान हनुमानढोका दरबार क्षेत्र कालभैरवको अगाडि यः सिं द्यः ठड्याएर यस वर्षको पर्वको शुरुआत गरिएको छ । इन्द्रजात्रा वास्तवमा येंया पुन्हिको एउटा अशं मात्र हो ।यःसि द्य ठड्याएपछि इन्द्रजात्रामा प्रदर्शन गरिने मजिपाः लाखे, हल्चोकको आकाश भैरव, किलागलको पुलुकिसि, देवीनाच, महाकाली नाच, आकाश भैरव, सम्यबजी सजाएर राख्नेलगायतका परम्परागत सांस्कृतिक मूर्ति तथा नाचलगायतका धार्मिक गतिविधि हुने गर्दछन् । त्यसैले, इन्द्रजात्रा एउटा मात्र उत्सव होइन, थुप्रै उत्सवको संगालो हो भन्न सकिन्छ ।

किंवदन्तीअनुसार स्वर्गलोकमा यज्ञका लागि पारिजातको फूल चाहियो । तर, त्यहाँ पारिजात फूल नभेटिएपछि इन्द्रका आमाले इन्द्रलाई फूल लिन पृथ्वी पठाइन् । इन्द्र पृथ्वी लोकमा मानिसको भेषमा आए र कसैलाई नसोधिकनै कान्तिपुरमा फूल टिपे । आफूहरूको जग्गामा फूल चोरेको भन्दै यहाँका मानिसले इन्द्रलाई समातेर डोरीले बाँधी नगर परिक्रमा गराए भन्ने किंवदन्ती छ । इन्द्रलाई बाँधेर नगरका विभिन्न क्षेत्रमा धुमाइएको प्रतीकस्वरूप इन्द्रजात्राभरि ‘यमबाःद्य’ राखिने प्रचलन रहेको छ । किंवदन्तीकै अनुसार काठमाडौंवासीको मनोबल बढाउने पर्वका रूपमा इन्द्रजात्रालाई लिन सकिन्छ ।

शनिबार बेलुका यस वर्षभरि निधन भएका व्यक्तिका परिवारले ‘उपाकु’ दीप प्रज्ज्वलन गर्दै सांस्कृतिक नगर परिक्रमा गरेका छन् । इन्द्रध्वजोत्थान गरिएको दिन वर्षभरि दिवंगत भएका आफन्तको सम्झनामा पाल्चामा बत्ती र धुप बाल्दै लिच्छविकालीन खड्ग आकारको शहर परिक्रमा गर्ने प्रचलन रहेको छ ।

त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक एवं इतिहासविद् त्रिरत्न मानन्धरले ‘उपाकु’ बौद्ध नेवारहरूले पितृ मोक्षका लागि मनाउने पर्व रहेको धारणा राख्नुभयो । उहाँका अनुसार गाईजात्रामा हिन्दू नेवारहरूले पितृमोक्षका लागि नगर परिक्रमा गर्ने र उपाकुमा भने विशेष गरी बौद्ध नेवारहरूले नगर परिक्रमा गर्ने प्रचलन रहेको छ ।

उपाकु आएकाहरूले ठँहिटी, ज्याथा, भोटाहिटी, महाबौद्ध, न्युरोड गेट तेबहाल, सुन्धारा, बागदरबार, लगन, ह्युमत, जैशीदेगः, कोहिटी, भीमसेन स्थान हुँदै नगर परिक्रमा गर्छन् । परिक्रमा गर्ने रुटमा रहेको चैत्य र मन्दिरहरूमा सम्यबजी राख्ने प्रचलन छ । आजैबाट मजिपा लाखे, पुलुकिसी, स्वःभकुलगायतका नाच पनि प्रदर्शन हुन्छन् ।

इतिहासविद् मानन्धरका अनुसार नेपालमण्डलमा मल्लकालदेखि नै यःसिं ठड्याउने परम्परा रहेको थियो । विश्वभर शुभकार्य अगाडि लामो काठ ठड्याउने परम्परा रहेको भन्दै सिन्धुघाटी सभ्यतामा समेत काठ ठड्याउने गरिएको इतिहासविद् मानन्धर बताउनुभयो ।काठमाडौंमा येंयाः मा पनि यःसिं ठड्याउने कार्य मल्लकालमा नै शुरू भएको थियो । तर, त्यस बेला अहिलेको जसरी तामझाम गरेर यःसिं ठड्याउने नगरिएको इतिहासविद् मानन्धर बताउनुहुन्छ । उहाँको अनुसार हाल वसन्तपुरमा रहेको काल भैरवअगाडि शाहकालमा मात्रै यःसिं ठड्याउन शुरु भएको हो ।

आज आइतबार ‘क्वःनेया’ तल्लो टोलमा जीवित देवी कुमारी तथा जीवित देवहरू गणेश र भैरवको रथयात्रा हुनेछ । रथयात्रा सम्पन्न भएपश्चात् राति वर्षभरि बितेका मृत्युवरण गरेका को सम्झनामा रथयात्रा भएकै बाटो हुँदै ‘दागी’ र त्यसपछि ‘बौंमतः’ ल्याउने परम्परा रहेको छ ।असोज ४ गते भने कुमारी, भैरव र गणेशलाई थःनेया माथिल्लो टोलमा रथ यात्रा गराइन्छ । असोज ८ गते नानिचाः यात्रापछि हनुमानढोका अगाडि ठड्याइएको यःसिं ढालेर टेकु दोभानमा लगेर सेलाएपछि इन्द्रजात्रा विधिवत रूपमा सम्पन्न हुनेछ ।


Like this:
Like Loading...