बुटवल ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्न ल्याइएको बहुमुल्य बुद्धमूर्तिलाई शनिबार भैरहवा, लुम्बिनी र मायादेवी बजार परिक्रमा गराइएको छ ।
भैरहवा भन्सार कार्यालय बेलहिया हुँदै नेपाल ल्याइएको बुद्ध मूर्तिलाई स्थानीय संघसंस्थाको सहयोगमा नगर परिक्रमा गराइएको हो ।
बहुमूल्य धातु ‘ह्वाइट जेड स्टोन’ बाट बनेको बुद्धमूर्ति म्यान्नमार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट शुक्रबार नेपाल ल्याइएको थियो । सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवा, लुम्बिनी होटल संघ नेपालको संयोजन तथा लुम्बिनी साँस्कृतिक नगरपालिका र लुम्बिनी गार्डेन फाउण्डेशनको समन्वयमा मूर्तिलाई सिद्धार्थनगर नगरपालिका, मायादेवी गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका परिक्रमा गराइ एयरपोर्टमा राखिएको छ ।
करिव दुई अर्ब ५० करोडको लागतमा बहुमूल्य धातुबाट बनेको बुद्धमूर्ति लुम्बिनी गार्डेन फाउण्डेशनले नेपाल सरकारलाई हस्तान्तरण गरेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने छ । सो बुद्धमूर्ति म्यानमारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले स्पेनको लुम्बिनी गार्डेन फाउण्डेशनलाई दिएको हो ।
एक हजार ८०० किलो तौल, १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको रहेको बुद्धमूर्तिको अनावरणपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलबाट आउने जाने पर्यटकले शान्तिको अनुभूति गर्न पाउने लुम्बिनी गोर्डन फाउन्डेसनका प्रतिनिधि तुलसीराम लामिछानेले जानकारी दिए ।
Like this:
Like Loading...