लुम्बिनीमा शनिवार वृक्षारोपण गरिएको छ । वातावरणको संरक्षण गर्ने उद्देश्यले नेपाली र थाई मिलेर वृक्षारोपण गरेका हुन् ।
लुम्बिनीस्थित कम्बोडिया मन्दिरको अगाडी नेपाली र थाइल्याण्डका शुभचिन्तकहरुले शनिबार अमला, लिची, अम्बा, बेल, फूल, अभोकाडो लगायत गरी १ सय ७५ वटा विभिन्न प्रजातिका विरुवा रोपेका छन् ।
थाई राजकीय विहार लुम्बिनी, लुम्बिनी सुर्वणभूमि फाउण्डेशनको आयोजना तथा लुम्बिनी विकास र थाई र नेपालीहरु को सहयोगमा वृक्षारोपण गरिएको कार्यक्रम संयोजक चेतन पन्तले बताए । कोभिड १९ को कारण थाई मित्रहरु नेपाल आउन नसके पनि लुम्बिनी क्षेत्रको वातावरण संरक्षणमा चासो राख्दै वृक्षारोपण अभियानमा सहयोग गर्नुभएको छ, पन्तले भने ।
रोपिएको विरुवालाई थाई विहार र सुर्वणभूमि फाउण्डेशनले हेरचाह गरी हरित क्षेत्रलाई सुन्दर बनाउँदै लैजाने थाई विहारका प्रमुख भिक्षु सुपथ कितिवननोले बताए । वृक्षारोपण गरिएको उक्त भाग लुम्बिनी विकास कोषको हरित क्षेत्र अन्तर्गत कम्बोडिया विहार अगाडी र म्यानमार विहारको पछाडी पर्छ !
त्यस्तै शनिबार नै लुम्बिनी विकास कोषको कार्यालय परिसरमा ३ वटा अभोकाडोको विरुवा रोपिएको छ । वृक्षारोपण अघि थाई भिक्षुहरुले बुद्ध वन्दना गरेका थिए ।
कार्यक्रममा थाई विहार प्रमुख सुपथले हरित क्षेत्र प्रदान गरेकोमा लुम्बिनी विकास कोषलाई वृक्षारोपणमा सघाएका थाइल्याण्डका उपासिका खामोवान चिंडुमपोरनसहित सम्फूर्ण व्यक्तित्व र कार्यत्रम संयोजक चेतन पन्तलाई धन्यवाद दिए । लुम्बिनी होटल संघका महासचिव लिलामणि शर्माले वातावरण संरक्षण गर्ने उद्देश्यले वृक्षारोपण गर्नु सराहनीय भएको बताए । उनले लुम्बिनी विकास कोष, थाई राजकीय विहार र कार्यक्रम संयोजक चेतन पन्तलाई धन्यवाद दिए । शर्माले आगामी दिनमा पनि वृक्षारोपणलाइ निरन्तरता दिन आग्रह गरे ।
Like this:
Like Loading...