भैरहवा । राष्ट्रिय गौरवको आयोजना रुपन्देहीमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल उडान र अवतरणको लागी तयार भएको छ । बिमानस्थलमा उडान र अवतरण गर्नको लागी चाहिने आइसीवी जिरो टु (०२) अन्तर्गतको नेभिगेसनल सिस्टम जडान भइसकेको छ । ‘आइसीवी जिरो टुको प्रमुख लक्ष्य अन्तर्गत भीओआरडीएमई र आइएलएस जडान गरेर परिक्षण समेत गरिएको छ ।
आइसीवी जिरो वन र जिरो टु अन्तर्गत उडान र अवतरण गर्न चाहिने सबै उपकरण जडानपछि ग्राउन्ड परिक्षण समेत गरिएको छ ।
आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार अव फ्लाइट क्यालिब्रेसन गरिने छ । फ्लाइट क्यालिब्रेसन पछि प्राविधिकरूपमा तिन महिनामा विमानस्थल ब्यवसायिक रुपमा सञ्चालन योग्य हुनेछ।
कोरोना माहामारीका कारण बिदेशी श्रमिक आउन नसकेपछि निर्माणमा केही समय ढिलाइ भएको बिमानस्थल अहिले परिक्षण उडानको लागी तयार भएको हो । क्यालिब्रेसन फ्लाइट गर्ने जिम्मा थाइलेण्डको सरकारी कम्पनी एरोथाइले पाएको छ ।
थाइलेण्ड सरकारले कोरोना माहामारीका कारण अहिले थाइलेण्ड भित्र जान र बाहिर आउन प्रतिबन्ध लगाएको छ । प्रतिबन्धका कारण एरोथाइले क्यालिब्रेसन फ्लाइट कहिले गर्छ भन्ने अनिश्चित छ । आयोजना प्रमुख अधिकारीका अनुसार बिमानस्थल सुरक्षित अन्तराष्ट्रिय उडान र अवतरणको लागी तयार भइसकेको छ तर एरोथाइले कहिले क्यालिब्रेसन फ्लाइट गर्छ त्यसमा भर पर्छ ।
क्यालिब्रेसन फ्लाइट बाहेक अब बिमानस्थलमा ट्रमिनल भवनको फिनिसिङ र फर्निसिङको केही काम बाकी रहेको छ । अधिकारीका अनुसार अहिले ट्रमिनल भवनमा एसी जडानको काम हुदैछ । थोरै एसीको समान आउन बाकी छ त्यो ७-८ दिन भित्र आइपुग्ने छ त्यसपछि ट्रमिनल भवनको काम सक्नेगरी अघि बढ्ने छौ अधिकारीले भने । अधिकारीका अनुसार करिव २ महिना भित्रमा बिमानस्थलको ट्रमिनल भवनले अन्तिम रुप लिनेछ ।
आइसीवी जिरो वन (०१) अन्तर्गत एयर कन्डिसनको कामका लागि आउन लागेका चिनियाँ जनशक्ति चीनबाट हिँडेको भए पनि उनीहरुको फ्लाइटमा कोभिड देखिएपछि उनीहरु चीन नै फर्किएका थिए जसका कारण पहिलेनै सकिनुपर्ने भएपनि ट्रमिनल भवनको काममा ढिलाइ भएको हो । यसैले एयर कन्डिसन प्रविधि जडानका लागि चिनियाँकै समन्वयमा हाललाई उनीहरुको विकल्पस्वरुप भारतीय प्राविधिक ल्याएर काम अघि बढाइएको छ।
गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलको भौतिक प्रगती ९७.३३ प्रतिशत रहेको छ । बिमानस्थलमा अहिले ६५ जना नेपाली कामदार, २० जना भारतिय कामदार र १५ जना चिनिया कामदारले काम गर्दै आएका छन् । बिमानस्थलको म्याद पछिल्लो समय सकिएको छ । आयोजनाले म्याद थपको लागी नागरिक उड्ययन प्राधिकरणमा पत्र पठाएको छ ।
गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलमा बोइङ ७७७, एयरबस ३२० जस्ता ठूला विमान पनि भैरहवामा अवतरण गर्न सक्ने छन् । एसियाली विकास बैंकको अनुदान तथा ऋण सहयोगमा विमानास्थलको स्तरोन्नतिका लागि सरकारले चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन विमानस्थल निर्माण समूहलाई जिम्मा दिएको छ । कुल करार मूल्य ६ अर्ब २२ करोड, ५१ लाख २० हजार २२८ रूपैयाँ रहेकामा एसियाली विकास बैंकको १८ प्रतिशत अनुदान तथा ४० दशमलव ५ प्रतिशत ऋण, अन्तराष्ट्रिय विकासका लागि ओपेक कोषबाट ३० दशमलव ५ प्रतिशत ऋण र नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानीबाट विमानास्थलको स्तरोन्नति हुँदैछ ।
Like this:
Like Loading...